२१ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री भण्डारीको नेतृत्त्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा


सनातन हिन्दूराष्ट्र नेपाल स्थापना

काठमाडौं । पूर्व वन तथा भू-संरक्षण मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्त्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । हिजो सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो ।

महाअभियानका सदस्य रामचन्द्र तिवारीका अनुसार कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र नेपाल स्थापनाको एजेन्डा प्रवेश गराएर महाअभियानको निर्णय छ । सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानद्वारा एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो ।

महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमान्दारिताका साथ निरन्तर क्रियाशील बन्ने प्रण समेत गरिएको छ ।

२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२/६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दूराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकट रुपमा नभएको पनि सो विज्ञप्तिमा स्मरण गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसजस्तो व्यापक जन आधारमूलक तथा प्रजातान्त्रिक पार्टीले ९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरु, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने अनिवार्य आवश्यकताप्रति पार्टीको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छौँ ।’

भण्डारीले धेरै वर्षअघिदेखि नै नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ भनेर पार्टीमा जोडदार माग राख्दै एक छन् । उनले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिंदै आएका हुन् ।

नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ । विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा उनको तर्क रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !