१२ असार २०८१, बुधबार

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं : केसी


arjunnarsing

२९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सभापति देउवालाई पार्टीलाई एक ढिक्का भएर अघि बढाउन आफूले समेत पटक पटक आग्रह गरेको जनाए । उनले भने,‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं।’ उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता केसीले आगामी पाँच वर्षभित्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सक्ने तागत आफूहरुसँग रहेको पनि जिकिर गरे । उनले भने,‘तर यसको लागि हामीभित्रै सुधारको आवश्यकत्ता छ, हामी सुधारवादी आन्दोलन गर्न गर्छौं, कांग्रेस थाकेको छैन, कसैले भगाएर पनि भाग्दैन।’ ईतिहाँसमा कांग्रेस कहिल्यै नचुकेको पनि उनले बताए ।
केसीले पार्टी सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको आफू विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजीवन नपाउने समेत ठोकुवा गरे ।

नेता केसीले आफू सभापतिले तत्काल राजिनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए । बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र आफूबीच पछिल्लो समय भएको सहमति पार्टीलाई एक ढिक्का बनाउनको लागि नै भएकोले सभापति देउवापनि सहमतिमा आउनुपर्ने उनको माँग छ। उनले भने,‘पार्टीमा गम्भिर चूनौतिहरु छन्, अब हामीले एम्बिसन होईन, मिशन लिएर अघि बढ्नुपर्छ, अनिमात्रै हामी अहिलेको चूनौतिसँग लड्न सक्छौं।’ पार्टीका सम्पूर्ण नेताहरु एक ढिक्का भएर जानुको विकल्प नभएको केसीको भनाई छ ।

कांग्रेस ईतिहाँसकै कालखण्डमा अत्यन्तै चूनौतिपूर्ण अवस्थामा रहेकोले आफूहरुले अहिले संयमित भएर आफ्नो भूमिका निर्वाह गरेको केसीले जनाए । उनले भने,‘हामी बजेट पेश गर्दा सुटकेश फोर्ने प्रतिपक्षी पनि होईनौं, हामी त लोकतान्त्रिक मर्यादा, परम्परा र सुसंस्कृतलाई ख्याल राख्दै आफ्नो भूमिका निर्वाह गर्छौं।’ समृद्ध नेपाल र सुखी नेपाली सबैको एजेण्डा भएकोले वर्तमान सरकारको काम हेर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘सरकार अहिले परीक्षाको घडीमा छ।’

नेता केसीले सरकारले हालै ल्याएको बजेट परम्परागत नै भएको जिकिर गरे । उनले भने,‘उहाँहरुले जनतासामू गरेका आश्वासनहरु पनि छैन, स्वप्निल कल्पना छैन, बजेटमा लक्षित कार्यक्रमहरु केही पनि छैनन, आएका कार्यक्रमहरुपनि छरिएर आएका छन्, बजेटमा पपुष्टि र उडन्ते कुराहरुमात्रै छन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ताका वृद्धवृद्धालाई घरमै ५ हजार भक्ता पुर्याउने भनेर गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको उल्लेख गर्दै केसीले भने,‘ग्रोयबल्स शैलीमा यस्तो झुठको खेती गर्नुहुँदैन।’

उनले सरकारले आगामी २०७६ भित्र कुनैपनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर सरकारले भनेको कुराको विरोध गर्दै भने,‘कालो धनलाई वैद्यता दिनेमात्रै हो, काला धनहरुसँग कमिशन खाने र उसको लगानी गर्न बैद्यता गर्ने कुरामात्रै हो, यसमा अन्तरंग भ्रष्टाचारको र्दुगन्धहरु आउँछन्, त्यसलाई हामीले केलाउन सकेका छैनौं, हाम्रा पार्टीका अर्थविदहरुले पनि यसबारेमा एक्सपोज गर्नुपर्छ।’ बजेटमा नयाँपन केहीपनि समावेश नभएको बताउँदै उनले भने,‘बजेट प्राथमिकताविहीन छ, यसले विपन्न वर्गको आधारभुत आवश्यकत्तालाई सम्बोधन गर्न सकेन्।’

वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रै वास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरुले विश्वास गर्ने केसीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिलेको कुल बजेटको ११ प्रतिशत बजेट आफूमा केन्द्रित गरेर राख्नुको कारण के हो भन्दै केसीले प्रश्न समेत तेर्साए । उनले भने,‘लेनिनको जनवादी केन्द्रियतातर्फ यो सरकार उन्मुख छ।’ संघीयताको मर्म र भावना अनुसार बजेट नआएकोमा उनको गम्भिर आपत्ति छ ।

फरक प्रसँगमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको चार बुँदे सहमति उपलब्धिमूलक रहेको बताए । उनले भने,‘उहाँहरुबीचको वार्ता सफल भएको दाबी गरिएको छ, यो विश्वको लागि पनि राम्रो हो, किमको लागि त झनै उपलब्धिमूलक हो।’

संसारको कुनै पनि भू–भागमा शान्तिको विकल्प नभएको बताउँदै उनले भने,‘शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन, त्यसैले यो वार्ता उहाँहरुले भनेजस्तो यो वार्ता गौरवान्तित र ऐतिहाँसिक छ।’ उनले समग्र विश्व शान्ति प्रक्रियाका ेलागि यो वार्ता गौरवको विषय भएको बताए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !