काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । एमालेले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ७५१ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ज्ञापनपत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए ।
एमालेले सरकारलाई जनताको सुझाव र माग समेटिएको ज्ञापनपत्र बुझाएको हो । यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको ज्ञवालीले बताए ।
एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो । मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागेको हो ।
एमालेले माघ मसान्तदेखि नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ । एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ ।