२० बैशाख २०८१, बिहिबार

पाण्डेयलाई संसद्को महासचिव नियुक्त गर्न सभामुख र अध्यक्षद्वारा राष्ट्रपतिलाई स्मरण


राष्ट्रपति, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को महासचिवमा सिफारिस गरिएका कार्यवाहक महासचिवको समेत जिम्मेवारीमा रहेका प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नियुक्तिका लागि स्मरणपत्र पठाएका छन् ।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले गत मंसिर २५ गते संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेतापनि राष्ट्रपति पौडेलले अहिलेसम्म उनलाई नियुक्त गरेका छैनन् ।

महासचिवमा सिफारिस पाण्डेयको नियुक्ति लामो समयसम्म रोकिँदा संसद्को कामकारबाही प्रभावित भएको भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले स्मरण पत्र पठाएका हुन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले माघ ३ मा राष्ट्रपतिलाई पत्र पठाएको बताए । ‘महासचिव नियुक्तिको लागि स्मरणार्थ अनुरोध’ विषयमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पत्र लेखेका हुन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पाण्डेयको नागरिकताको विषयमा परेको उजुरीमाथि छानबिन अघि बढाएको अवस्थामा सभामुख र अध्यक्षले भने राष्ट्रपतिलाई नियुक्तिका लागि स्मरण पत्र लेखेका हुन् ।

कार्यवाहक महासचिव पाण्डेयविरूद्ध प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता दुरूपयोगको उजुरी परेको छ । उजुरीबारे समितिले गृह मन्त्रालयलाई पत्र लेख्दै जवाफ मागेपछि पाण्डेयको नागरिकताबारे जिल्ला प्रशासन कार्यालयबाट विवरण मागिएको थियो।

संसदको महासचिवमा नियुक्ति सिफारिससँगै उनले एकभन्दा बढी नागरिकता लिएको विषय सार्वजनिक भएको थियो । ६ वर्ष उमेर घटाएर नागरिकता लिएको, सोही नागरिकताका आधारमा पासपोर्ट लिई दुरुपयोग गरेको भन्दै कार्यवाहक महासचिवको समेत जिम्मेवारी प्राप्त प्रतिनिधिसभा सचिव पाण्डेयको विषयमा छानबिनका लागि परेको उजुरीमा समितिले छानबिन गर्ने प्रक्रियामा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !