१३ आश्विन २०८१, आइतबार

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्री प्रचण्डद्वारा अन्तर्क्रिया


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्क्रिया गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका हुन् ।

युगाण्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेको समस्याबारे जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले युगान्डामा आफू पहिलोपटक आइपुगेको बताउँदै त्यहाँ रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध र गम्भीर रहेको बताएका थिए।

विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने प्रधानमन्त्रीले बताएका थिए । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको बताए । ३० वर्षदेखि नेपालीले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभाव भेटेको महसुस भएको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !