४ मंसिर २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगाण्डा जाने


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ४ गते युगाण्डा जाने भएका छन् । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आउँदो माघ ४ गते युगाण्डा जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगाण्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो । शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहनेछन् ।

असंलग्न आन्दोलनको शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डामा हुँदै छ । शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माघ ५ गते नै प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुटा मुसेभेनीले शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पराष्ट्रले जनाएको छ । शिखर सम्मेलनअघि माघ ३ र ४ गते मन्त्रिस्तरीय बैठक बस्नेछ ।

शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नेछन् । परराष्ट्रमन्त्री साउद माघ २ गते युगान्डा प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !