२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट


प्रधानमन्त्री प्रचण्ड र डा. एस जयशङ्कर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा विशेष गरी प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनका लागि आज बस्ने नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक फलदायी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार रुपक सापकोटाले जानकारी दिए ।

गत जुनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका विद्युत् व्यापार, कनेक्टिभिटीलगायतका विषयमा छलफल भइ प्रधानमन्त्री दाहालले ती सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउने गरी आजको दुई देशबीचको संयुक्त आयोगको बैठकमा आवश्यक छलफल गरी अगाडि बढ्न भारतीय विदेशमन्त्रीलाई आग्रह गरेका थिए ।

उनले भारतसँग भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता नेपाल र भारत दुवै देशका लागि तथा नेपालले बंगलादेशसम्म विद्युत् व्यापार गर्न सक्नेसम्मका लागि पनि कोशेढुङ्गा सावित हुने भन्दै यस सम्झौतालाई आपसी समझदारीअनुसार सहजरुपमा अघि बढाउन जोड दिनुभएको सल्लाहकार सापकोटाले जानकारी दिए ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !