काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री आज काठमाडौं आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन श्रीलंकाका विदेशमन्त्री साब्री भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।
नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक भोलि पुस ५ बिहीबार र पर्सि ६ गते शुक्रबार काठमाडौंमा हुँदै छ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्ने छन् ।
बैठकमा नेपाल–श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिनेछ । बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ ।
भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने छन् । नेपाल भ्रमणका बेला श्रीलंकाका विदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्री पुस ७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।