२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ समितिले आज निर्णय गर्दै


संसदीय सुनुवाइ समिति

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय गर्दैछ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

गत मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो । संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशहरुमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान रहेका छन् ।

गत मंसिर २९ गतेदेखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सुरु गरेर सोमबार सुनुवाइ सकाएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।

उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !