३ आश्विन २०८१, बिहीबार

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रा सम्पन्न


-चिवाभञ्ज्याङ सङ्कल्प यात्रा

काठमाडौँ । नेकपा (एमाले) ले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज सम्पन्न भएको छ । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गरेका हुन् ।

एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्यूरोका सदस्य, केन्द्रीय कमिटीका सदस्य, जनप्रतिनिधिलगायत उक्त अभियान सम्पन्न गर्न आज बिहान चिवाभञ्ज्याङ आइ पुगेका थिए ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरुआत भएको थियो । झण्डोत्तलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतीक स्तम्भको अनावरण गर्नुभयो । उक्त कार्यक्रमका लागि आसपासको क्षेत्रबाट एमाले समर्थक तथा कार्यकर्ता उक्त स्थानमा पुगेका छन् ।

अभियान सम्पन्न भएपछि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्रप्रसाद पाण्डे तथा महासचिव शङ्कर पोखरेल हेलिकप्टरमार्फत फिदिम फर्कनुभएको छ भने उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवसहितका नेताहरु पैदल मार्ग हुँदै फिदिम फर्किएका हुन् ।

यसअघि पाँचथरको फिदिममा शनिबार एमालेले सन्देशसभा आयोजना गरेको थियो भने आज पाँचथरको याङवरक—१ च्याङथापूमा कोणसभा आयोजना गरेको थियो ।

तीन हजार १२८ मिटरको उचाइमा अवस्थित चिवाभञ्ज्याङ भारतको सिक्किम प्रान्तसँग सीमा जोडिएको स्थान हो । स्थानीयवासीले लामो समयदेखि सीमा नाका स्थापनाको माग गरिरहेको चिवाभञ्ज्याङमा एमालेको यात्रा टुङ्गिने क्रममा ठूलो सङ्ख्या नेता तथा कार्यकर्ता पुगेका छन् । अभियानले चिवाभञ्ज्याङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, नाका स्थापनाका लागि सहयोग गर्न मद्दत मिल्ने च्याङथापूका ताराकुमार खालिङको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !