१६ असार २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान


प्रधानमन्त्री प्रचण्डद्वारा कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणको शुभारम्भ गरेका छन् । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नागरिकता वितरण कार्यको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई प्रदान गरेका हुन् । उनले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते नागरिकताको प्रमाणपत्र पाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीलाई पनि गैरआवासीय नागरिकता प्रदान गरे । केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।

सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् ।

आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए । गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए ।

आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !