१४ असार २०८१, शुक्रबार

खेलकुदको विकासका लागि सघाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हालै चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा अझ धेरै पदक र उत्कृष्ट खेल प्रदर्शन गर्नेगरी परिश्रम गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले १९औँ एशियाली खेलकुदमा महिलाको प्रस्तुति रोचक भएको उल्लेख गर्दै आगामी दिनमा अझै ठूलो सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । उक्त प्रतियोगिताअन्तर्गत महिला कराँतेमा नेपालले रजतपदक जितेको थियो ।

उनले आफू खेलाडीलाई हौसला दिन प्रतियोगितास्थलमा पुगेको स्मरण गर्दै पदक जितेका खेलाडीलाई उचित पुरस्कारको व्यवस्था गर्ने बताए । क्रिकेटमा कीर्तिमान कायम गरेका खेलाडीहरुको सराहना गर्दै प्रधानमन्त्रीले पुरस्कारको व्यवस्था हुने बताए ।

खेलाडीलाई प्रोत्साहन गर्नेसम्बन्धी नियमावली यसअघिको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको उल्लेख गर्दै आजको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई पुरस्कृत गर्नका लागि अर्थमन्त्रालयले निकासा दिने निर्णय भएको जानकारी दिए ।

“खेलाडीको प्रोत्साहनका लागि मैले पुरस्कार दिने घोषणा गरेको थिएँ, सरकारले नियमावली स्वीकृत गरिसकेको छ, आजको मन्त्रिपरिषद् बैठकमा खेलाडीलाई पुरस्कार दिनका लागि निकासाको निर्णय भयो र एक साताभित्र अर्थमन्त्रालयबाट रकम आउनेछ”, उनले भने ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्षलगायतको उपस्थिति थियो । नेपाली खेलाडीले महिला करातेमा रजत र महिला कबड्डीमा कास्यपदक जितेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !