२१ बैशाख २०८१, शुक्रबार

मधेस प्रदेशमा संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्दै जसपा


जसपा

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका आठवटै जिल्लामा सङ्गठन विस्तार अभियान गर्ने भएको छ । मङ्गलबार बसेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रमको कार्यतालिका बनाएको छ ।

मधेस प्रदेश समितिका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख सुशिल कुमार यादवका अनुसार सप्तरी जिल्लामा असोज २१ र २२ गते अभिमुखीकरण कार्यक्रम हुने छ । उक्त कार्यक्रम संयोजनको लागि प्रदेश उपाध्यक्ष अरुण कुमार देव र कोषाध्यक्ष रेणुकुमारी यादवलाई तोकिएको छ

असोज २१ र २२ गते हुने सिराहा जिल्लाको अभिमुखीकरण कार्यक्रमको संयोजनको लागि प्रदेश सचिवद्वय शैलेश कुमार साह र निर्मला कुमारी यादवलाई जिम्मेवारी दिइएको छ ।

जसपाले धनुषा जिल्लामा असोज २४ र २५ गते अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ सो कार्यक्रमको संयोजनको जिम्मेवारी प्रदेश उपाध्यक्ष रामसेवक यादवले गर्ने छन् ।

त्यस्तै महोत्तरी जिल्ला र रौतहट जिल्लाको अभिमुखीकरण कार्यक्रम असोज २३ र २४ गते हुने छ । प्रदेश समितिको तर्फबाट कार्यक्रमको संयोजन गर्नको लागि महोत्तरीमा उपाध्यक्ष निरा कुमारी साह र रौतहटमा उपाध्यक्ष ज्ञानेन्द्र कुमार यादवलाई तोकिएको छ ।

सर्लाही जिल्लाको कार्यक्रम असोज २५ गते गरिने भएको छ र उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी प्रदेश सचिव पुनित रामले पाएका छन् ।

बारा जिल्लामा असोज २२ र २३ गते गरिने कार्यक्रमको संयोजन प्रदेश उपाध्यक्ष बृजमोहन तिवारीले गर्ने भएका छन् भने पर्सामा असोज २५ र २६ गते अभिमुखीकरण कार्यक्रम गरिने छ र उक्त जिल्लाको कार्यक्रम संयोजनको जिम्मेवारी प्रदेश उपाध्यक्ष सुशिल कुमार यादवलाई तोकिएको छ ।

साथै बैठकले पर्सा जिल्लामा उत्पन्न समस्या समाधानका लागि प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, प्रदेश उपाध्यक्षद्वय रामपृत पासवान र सुशिल कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेको कार्यदल गठन गरिएको मधेस प्रदेश समितिका प्रचार प्रसार विभाग प्रमुख सुशिल कुमार यादवले जानकारी गराएका छन् ।

बैठकले दोहोरो जिम्मेवारीमा रहेका प्रदेश पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरी एक पद वा एक जिम्मेवारी दिने निर्णय समेत गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !