१९ असार २०८१, बुधबार

संसद सञ्चालन नियामावली शुक्रबार पारित हुन्छ : कानूनमन्त्री तामाङ्


sherbahadur tamang

२३ जेठ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधि सभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले नियामावलीमा सहमति जुटाउन अझैपनि प्रयास भैरहेको जनाए । उनले भने,‘हामी सहमति जुटाउने प्रयास गरिरहेका छौं, तर अब बस्ने शुक्रबारको संसद बैठकबाट नियामावली पारित हुन्छ, प्रतिनिधि सभा नियामावली मस्यौदा समितिमा जुटेको सहमति अनुसार नै डा«फ्ट संसदमा पेश गर्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री तामाङ्ले आफूहरु अहिलेपनि उक्त सहमतिबाट पछि नहटेको स्पष्ट पारे । उनले भने,‘समितिले जस्तो मस्यौदा तयार पारेको थियो, वा दलहरुवीच सहमति भएको थियो, त्यही सदनमा पेश गर्छौं, तर सांसदलहरुलाई मस्यौदामाथि संशोधन हाल्ने अधिकार छ, यदि उहाँहरुले संशोधनमा बहुमत पुर्याउनुभयो भने त्यही अनुसार पास हुन्छ।’ उनले सांसदहरुलाई संशोधन हाल्ने सार्वभौम अधिकार भएकोले आफूहरुले उक्त सहमतिमै अडान लिएर सांसदहरुलाई बाध्य बनाउन नसक्ने जिकिर गरे ।

संसद सञ्चालन नियामावली नआउँदा धेरै कामहरु प्रभावित भएको बताउँदै मन्त्री तामाङले आफूहरु यसलाई अब छिट्टै टुँगो लगाउने पक्षमा रहेको स्पष्ट पारे । उनले भने,‘नियामावली पारित नहुँदा संसदीय समितिहरु ग्ठन, संवैधानिक अंगमा नियुक्ती, राजदुतहरु नियुक्ती गर्न सकिएको छैन, अब नियामावली पारित हुने वित्तिकै प्रधानन्यायाधीश, अख्तियार प्रमुख र राजदुतहरुको नियुक्ती प्रक्रिया अघि बढ्छ ।’

उनले दाताको खर्चमा सांसदहरुलाई तालिम दिईएको समाचार झुठा भएको जिकिर गरे । उनले थपे,‘आईएनजिओको खर्चमा सांसदहरुलाई तालिम दिईएको भन्ने कुरा आएका छन्, यो गलत हो, जहाँसम्म युएनडिपीको सहयोगको कुरा छ, यो हाम्रो नियमित बजेट र अर्थ मन्त्रालयको सहमतिमै सञ्चालन भएको हो, हाम्रो बजेटको एउटा स्रोत वैदेशिक अनुदानपनि हो, नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रपनि हो, त्यसैले युएनडिपीपनि राष्ट्रसंघको स्पेशल एजेन्सी हो, हामीले सहयोग लिन सक्छौं ।’

फरक प्रसँगमा मन्त्री तामाङले पार्टीका एक जना नेताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्दैमा विपक्षीहरु आँत्तिनु नपर्ने धारणा राखे । उनले भने,‘नेकपाभित्र यस विषयमा कुनै छलफल भएको छैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनेगरि संविधान संशोधन गर्ने कुरा पनि निराधार हो, यसमा पार्टीभित्र छलफल भएकै छैन, कोही पनि यसबाट डराउन वा तर्सिन जारी छैन् ।’

आफूहरुले २०४७ सालदेखि नै बहुदलीय राजनीतिक प्रतिष्पर्धाबाट यहाँसम्म आएकोले कुनैपनि किसिमको अधिनायकवाद लाद्छ कि भन्ने कुरामा शंका नगर्न उनले आग्रह गरे ।

त्यस्तै उनले संघीय समाजवादी फोरम नेपालसँग सहमति गर्दैमा किन गाली गर्नु भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘आफूले गर्दा राम्रो हुने, त्यही कुरा अरुले गर्दा किन नराम्रो हुने, राजपाका नेताहरु स्वयम् अहिले सरकारमा आउन छलफलकै प्रक्रियामा हुनुहुन्छ।’ मन्त्री तामाङ्ले आफूहरुको एकमात्रै उद्देश्य मुलुकमा समृद्धि हाँसिल गराउनु भएकोले यसको लागि एकले अर्को दलसँग सहकार्य र सहमति गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !