काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
बैठकमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलगायत विषयमा बैठकमा छलफल गरिनेछ । आजै प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरोकारवाला निकायका पदाधिकारीसित छलफल गर्ने सचिवालयले जनाएको छ ।
बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने पनि बताइएको छ । मन्त्रिपरिषद् बैठकमा चाडबाडको मुखमा सरकारले मूल्यवृद्धि गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।
नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा सो नभएकोमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको उनको सचिवालयले बताएको छ ।