२० असार २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले बोलाएको सात दलको बैठक रास्वपाद्वारा बहिष्कार


रास्वपा रवि लामिछाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सात दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको उक्त पार्टीका सभापति रवि लामिछानेले जानकारी दिएका हुन् ।

लामिछानेले सामाजिक संजाल फेसबुकमा लेख्दै सरकारले गरेको मूल्यवृद्धिप्रति रास्वपाको गम्भीर आपत्ति रहेको र सो विरोधस्वरुप प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको जानकारी दिएका छन् ।

लामिछानेले फेसबुकमा लेखेका छन्, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ । थप कार्यक्रम बारे जानकारी दिनेछौं ।’

चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !