५ जेष्ठ २०८१, शनिबार

नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने


एमाले सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । आज मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

हृदयघातबाट निधन भएका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता नेम्वाङको एमालेले आज मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

नेम्वाङको पार्थिव भोलि दिउँसोसम्म एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । एमाले सचिवालय बैठकले नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसोसम्म एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै अबका तीन दिनसम्म सबै एमाले कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको उनले बताए । बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए । नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए ।

नेम्वाङको पार्थिव शरीर अहिले ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा ल्याई पुर्याइएको छ । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल ल्याइएको हो ।

सरकारले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेअनुसार नेपाली सेनाको टोलीले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासल पुर्‍याएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो ।

सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !