१० माघ २०८१, बिहीबार

चीन भ्रमण जाँदा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाउनेछु : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन् । आज मंगलबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री प्रचण्डले भविष्यमा हुने चीन भ्रमणका क्रममा व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने स्पष्ट पारेका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा मुगुका सांसद ऐनबहादुर शाहीले प्रधानमन्त्रीलाई ‘चीन भ्रमणका क्रममा नाम्चे लाग्ना नाका खोल्ने विषयमा छलफल हुने योजना छ कि छैन ?’ भन्ने सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुरा हुने मुगुको बताउदै नाम्चे लाग्ना नाका खोल्नेबारे कुरा उठाउने करिब निश्चित भएको बताए ।

प्रधानमन्त्रीले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्‍याउने बताए ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताए । प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पारे । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उनको कथन छ ।

उनले सरकारले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखा परेको जानकारी दिए । केन्द्रीय बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको राजधानीको विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गरे । राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्णरुपमा परिचालित गरेको जानकारी दिँदै उनले ती आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको बताए । प्रतिनिधिसभाको बैठक जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !