काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने र त्यस क्रममा प्रदेशस्तरीय मोर्चा पनि गठन गर्ने निर्णय गरेको बताए ।
समाजवादी मोर्चाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने भएको छ । मोर्चाले भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा आयोजना गरिने निर्णय भएको हो ।
यस्तै भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गरिने उनले बताए ।
आजको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी थिए ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।