२२ भाद्र २०८१, शनिबार

राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक आज फेरि बस्दै


सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सर्वदलीय बैठक आज फेरि बस्दै छ । राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक अपराह्न चार बजे आज फेरि बस्ने भएको हो ।

सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः आज बस्नेगरी स्थगित भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याएको थियो ।

संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताएका थिए ।

बैठकमा प्रधानमन्त्रीले राज्यका निकायले गर्ने काममा सबैले साथ र सहयोग गर्नुपर्ने र त्यसलाई प्रभावित पार्ने गरी कुनै पनि अर्को समिति तत्काल आवश्यक नपर्ने बताएका थिए ।

यस्तै, एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको माग कायमै रहेको बताए । उनले सदनको अवरोध खुलाउन आफूहरु तयार भएपनि सरकारको तर्फबाट ल्याउने कार्यसूची अगाडि बढाउन भने तयार नरहेको सङ्केत गरे ।

उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समेत स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ र नेता हितराज पाण्डे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । यस्तै, नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायतको उपस्थिति थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !