२६ पुस २०८१, शुक्रबार

जग्गाको कित्ताकाट सरकारले खुलायो


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिकमन्त्री ज्वालाले मन्त्रिपरिषद्को बैठकले भू-उपयोग नियमावली पास गरेको बताएका हुन् । जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।

मन्त्री ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।”

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । “त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !