१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गर्नुभयो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन् ।

गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने टिप्पणी गरेका हुन् ।

ओलीले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दु:ख दिएको समेत आरोप लगाए । उनले नेपाली कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताए ।

उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए ।

ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए ।

उनले यो शुरुआत मात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे । स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !