काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ परेका छन् । पछिल्लो समय डा. श्रद्धा शिल्पकार पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्ने चिकित्सकको संख्या ६ जना पुगेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् । यसअघि हिजो नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा, डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी पक्राउ परेका थिए ।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि हिजो दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ ।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।