काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दुई सातादेखि अवरुद्ध गर्दै आएको संसद बैठक आजदेखि सञ्चालन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले सदन खुलाउन सहमत भएको हो ।
सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चलाउन नदिने अडान राख्दै आएको एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।
गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि एमालेले संसद्को अवरोध खुलाउन तयार भएको हो । बैठकमा दलका अन्य नेताहरुले पनि सुन तस्करी प्रकरणबारेमा बोल्ने भएका छन् ।
एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप निर्णय लिने बताए । यदि गृहमन्त्रीको जवाफमा चित्त नबुझेमा फेरि संसदमा अवरोध रहने उनले बताएका छन् ।
यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै आएपछि सदनमा गतिरोध उत्पन्न भएको थियो ।
सदनको गतिरोध अन्त्य गर्न भन्दै हिजो बसेको सत्ता पक्ष र प्रतिपक्ष दलका शीर्ष नेताको बैठकमा सहमति नजुटेपछि संसद बैठक आज ३ बजेसम्मका लागि स्थगित गरिएकोले आज बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमा गरेका थिए । सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको थियो ।
यस्तै बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बतौला, नेपाली कांग्रेसका प्रमुख सचेतक लेखक सहभागी थिए ।