१० मंसिर २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै सभामुखले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी आज सदनलाई गराउनेछन् ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !