१३ आश्विन २०८१, आइतबार

राष्ट्रियसभाको बैठकमा एमालेद्वारा गृहमन्त्रीको राजीनामा माग


देबेन्द्र दाहाल

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । एमालेले गृहमन्त्रीको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको हो ।

आज बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

उनले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रिय सभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने बताए । दाहालले सरकारले नै तस्करीलाई सहयोग गरेकोले छानबिन गर्न नसक्ने भन्दै सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका हुन् ।

संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल भएको छ । राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !