काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।
पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उनले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जोसुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताए ।
उनले भने, “निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ ।”
उनले राजनीतिमा रहेकालाई एउटा कानून र सर्वसाधारण नागरिकका लागि अर्को कानून नभएको भन्दै कानून सबैका लागि बराबर भएकाले दोषीलाई कारबाही भएरै छाड्ने आश्वासन दिए ।
दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाले भ्रष्टाचारी हुन् की होइनन्, दोषी हुन् की होइनन् भन्ने विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कानूनी दायमा ल्याउन आफूले निर्देशन दिएको उनको भनाइ थियो । उनले भने, “भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।”
समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उहाँले कमिशनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जबर्जस्तरूपमा गाँजेको भनाइ राखे । गृहमन्त्री श्रेष्ठले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रूपान्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेको धारणा राखे ।
उनले भने, “भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न सकिँदैन ।” समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रूपमा रहेको र समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रूपमा रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिङ्गो लोकतन्त्रको चुनौतीका रूपमा रहेको बताए ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान शुरु गर्नुपर्ने बताए । समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचार विरोधी लडाइँमा आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर सरकारलाई साथ दिइरहेको बताए ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।