१० पुस २०८१, बुधबार

सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएर स्टन्टमात्र गर्न खोज्यो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएर स्टन्टमात्र गर्न खोजेको आरोप लगाएका छन् ।

आज मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको टिप्पणी गरेका हुन् ।

सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । ओलीले राष्ट्रिय राजनीतिमा अभिनय भइरहेको भन्दै कार्यकर्तालाई अभिनयभन्दा माथि उठ्न आग्रह गरे ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताए । उनले अविश्वसनीय र भ्रष्टहरु नै अहिले आफूलाई बडो विश्वसनीय तत्वजस्तो देखाउन खोजेको पनि बताए ।

ओलीले सरकार बनेको ७ महिना हुँदा समेत ओर्तिरको सिन्को पर्तिर नसारेको तर ढाट्न मात्र लागेको बताए । उनले कहिलेकाँही ढाँटेर पनि राजनीतिमा सफल होइने बताउँदै उक्त कुरा लामो समयका लागि नटिक्ने बताए ।

उनले सरकारले अरुलाई हान्न खोज्दा आफ्नै टाउकोमा लाग्ने पनि बताए । उनले प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई स्पष्टीकरण दिन समेत नदिएर झुठ बोलेको आरोप पनि लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !