५ जेष्ठ २०८१, शनिबार

प्रकृतिको सदुपयोग गर्नुपर्छ : गृहमन्त्री


Ram Bahadur Thapa

१७ जेठ, चितवन । गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको द्वन्द्वलाई बाधकका रुपमा हेर्न नहुने बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ ।”

गृहमन्त्री थापाले प्रकृतिलाई विनाशका रुपमा मात्रै नहेर्न आग्रह गर्दै मानव र प्रकृतिबीचको द्वन्द्व संसारभरि नै रहेकाले यसलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हावालाई सदुपयोग गर्न सके विन इनर्जी निकाल्न सकिन्छ, घामलाई सदुपयोग गर्न सके सौर्य ऊर्जा निकाल्न सकिन्छ र पानीलाई सदुपयोग गर्न सके विद्युत् निकाल्न एंव जलयात्रा गर्न सकिन्छ ।”

सो अवसरमा गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यौपानेले विश्वका अन्य देशको तुलनामा हाम्रो देश उच्च जोखिममा रहेको उल्लेख गर्दै विपद् आउन नदिन र यसको न्यूनीकरणका लागि सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।

अहिले पनि जोखिम देशको सूचीमा नेपाल १५ नम्बरमा रहेको बताउँदै उहाँले यसको व्यवस्थापनका लागि प्रदेश सरकार र स्थानीय सरकारको ठूलो जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विपद् व्यवस्थापनका लागि जिल्लामा २१ प्रकारका सामग्री खरिद गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

समितिले गएको महिना हावाहुरीले पूर्णक्षति भएका घरपरिवारलाई तत्काल राहतका लागि कालिका नगरपालिकालाई रु दुई लाख ४० हजारको चेक र रत्ननगर नगरपालिकालाई रु एक लाख ३५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !