१३ आश्विन २०८१, आइतबार

त्यो दिन म प्रधानमन्त्री होइन ज्ञानुको बुवा भएर बोलेँ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते पुस्तक विमोचन समारोहमा देशको प्रधानमन्त्री भन्दा पनि आफ्नी दिवंगत छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको स्पष्टीकरण दिएका छन् ।

आज सोमबार आफ्नो अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी दलले गरेको संसद अवरोधप्रति प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले दिएको उक्त अभिव्यक्तिमा केही भावनात्मक विषय भएको बताएका स्पष्ट पारेका हुन् ।

उनले आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको दोहोर्याए ।प्रधानमन्त्री प्रचण्डले उक्त पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका हुन् ।

‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, उनले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

प्रधानमन्त्री प्रचण्डले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको भनेर गुनासो समेत गरे । उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताए ।

विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ । “कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु”, प्रधानमन्त्रीले भने, “मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर, त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु