१३ आश्विन २०८१, आइतबार

कोशीमा मन्त्रिमण्डल बिस्तार : प्रधानमन्त्री प्रचण्डका ज्वाइँ बने अर्थमन्त्री


कोशीमा मन्त्रिमण्डल बिस्तार

विराटनगर । कोशी प्रदेशमा मन्त्रिमण्डल बिस्तार भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ज्वाइँसमेत रहेका माओवादीका सांसद जीवन आचार्य आज कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन् । आचार्य प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

आचार्य दोस्रोपटक मन्त्री नियुक्त भएका हुन् । अघिल्लो कार्यकालमा निवर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि आचार्य चार महिना पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए ।

मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् । यस्तै माओवादी केन्द्रबाट संखुवासभाका राजेन्द्र कार्की र नेपाली कांग्रेसबाट उदयपुरका रामकुमार खत्रीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ पनि लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु