२४ बैशाख २०८१, सोमबार

समाजवादी मोर्चाबाट किन अलग भए बाबुराम ? यस्तो छ कारण


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट आफू अलग हुनुका कारणहरुको बारेमा स्पष्टीकरण दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज एउटा लामो स्टाटस् लेख्दै भट्टराईले सरकार नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) सहित चार दलको ‘समाजवादी मोर्चा’ सत्ता प्राप्तिका लागि मात्र बनेको आरोप लगाउँदै सोही कारण आफ्नो पार्टी त्यसमा संलग्न नभएको दाबी गरेका छन् ।

उनले सिर्फ अंकगणितका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा आफू संलग्न नभएको भन्दै समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात भएको बताएका छन् ।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस्

हामी अग्रगामी वैकल्पिक शक्ति निर्माणकै अभियानमा छौं र रहनेछौं

धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाॅ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ।

१. नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाॅ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो।
सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमान्दार प्रयत्न हामीले गरेकै हो।त्यसनिम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो ।

परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसंग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो। नयाॅ युगको नयाॅ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसंग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन।किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।

२. जहाॅसम्म हामी नयाॅ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाॅ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाॅ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ ।

वीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसंग सहकार्य गर्दा हाम्रो छवी जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचना सहित त्यलाई सच्याउने कार्य गरिसकेका छौं! अतः नयाॅ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउॅदै गरेका सबै अग्रगामी नयाॅ शक्तिहरूसंग सहकार्य गर्दै वृहद नयाॅ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !