१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीको सचिवालयले भन्यो- भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्नु दुःखद हो


प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले प्रीतम सिंहबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रीतम सिंहको भेटघाट र चिनजान भएको पनि प्रष्ट पारेका हुन् ।

जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको र प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि २०६७/६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उनको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उनको भारतमा आउजाउ हुने गरेको विज्ञप्तिमा बताइएको छ ।

सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उनीहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको पनि उल्लेख गरिएको छ ।

नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्री प्रचण्डले प्रसंगवश उल्लेख गरेको प्रष्ट पारिएको छ ।

यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटक-पटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गरेको तर सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दु:खद् भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

‘पुस्तक बिमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कार्वाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ, यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दछौँ’ ,विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्मरणयोग्य कुरा के छ भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेतको प्रस्तावमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको र सम्मानित सदनबाट झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएको थियो । संकुचित राजनीतिक मानसिकताका साथ उहाँको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ । तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपील गर्दछौँ ।’

 प्रचण्डको सचिवालयको स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !