२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको बोलीप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक


एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । प्रधानमन्त्री प्रचण्डको बोलीप्रति आपत्ति जनाउँदै एमालेले संसदीय दलको बैठक समेत बोलाएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो । सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलासा गरेका थिए ।

सिंहको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, “उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ । ”

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ भने आजै राष्ट्रियसभाको बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उक्त विषय जोडले उठाउने तयारी गरेको हो । एमालेले आज दिउँसो साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !