१३ आश्विन २०८१, आइतबार

आफ्नो जन्मथलो विकासमा प्रधानमन्त्री प्रचण्डले देखाए विशेष चासो


प्रधानमन्त्री प्रचण्ड आफ्नो जन्मथलोमा

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे । अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आइपुगेका उनी बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुगेका हुन् ।

दाहाल तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक जन्म गाउँमा पाइला टेकेका हुन् । उनी सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाइ तथा स्थानीयवासीसँग अन्तअन्तर्क्रिया गर्न छुटाउदैनन् । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राखेका थिए ।

स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उहाँले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताए । उनका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासीसमेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गरेका थिए ।

अध्यक्ष भण्डारीले भने, “प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राखेका थिए । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताए ।

वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयसमेतसँग अन्तर्क्रिया गरेका थिए । अन्तर्क्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु