८ मंसिर २०८१, शनिबार

चार दलद्वारा समाजवादी मोर्चाको घोषणा


समाजवादी मोर्चाको घोषणा

काठमाडौँ । चार दलहरुले समाजवादी मोर्चाको घोषणा गरेका छन् । सत्तामा रहेका तीन पार्टी र सत्ताबाहिर रहेको एक पार्टी गरी चार दलहरुले आज समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

राष्ट्रियसभा गृहमा एक कार्यक्रम आयोजना गरी सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) , नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

आज भएको घोषणासभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।

चार कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उदेश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ ।

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको यी चार राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका थिए । यी चार दलले समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति गरेका छन् ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएतापनि उनी भने आज अनुपस्थित रहेका छन् । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !