१० असार २०८१, सोमबार

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव अर्याल


वैकुण्ठ अर्याल

काठमाडौँ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए ।

मुख्यसचिव अर्यालसँग महासङ्घका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो ।

भेटका क्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा. अर्याललाई वधाइ दिंदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरे । यसैगरी अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संसोधनका लागि पहल गर्न आग्रह गरे ।

महासङ्घले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए । यस विषयमा मुख्य सचिव अर्यालले गृह मन्त्रालयसँग समन्वय गर्ने जवाफ दिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ढाकालले जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगरउद्योग वाणिज्य सङ्घले आयोजना गर्नेगरी प्रावधान बनाइनुपर्ने माग माग गरे । भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रबारे सरकारको प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए । महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !