८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिटको सुनुवाइ आज हुँदै


प्रचण्ड र भट्टराई फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि आज मंगलबार सुनुवाइ हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्ड र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले दर्ता गर्न आदेश दिएको थियो ।

माओवादीकै पूर्व बाल सैनिकसमेत रहेका विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए । तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए ।

विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरु प्रचण्ड, डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।

उक्त रिटमा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !