१५ असार २०८१, शनिबार

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले स्वीकृत


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका थिए ।

विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।

विनियोजन विधेयकमा अर्थमन्त्रीको जवाफ

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. महतले बजेट विनियोजन गर्दा जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि प्रदान गर्न, रोजगारी सिर्जना गर्न तथा उद्योग व्यवस्थाको प्रवद्र्धनका विषयलाई दृष्टिगत राखेर बजेट तर्जुमा गरिएको बताए ।

उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार, शान्तिसुरक्षा र सुशासन प्रवर्द्धन गर्नेतर्फ उन्मुख गराउने हिसाबले बजेट विनियोजन गरेको बताए । उनले स्वास्थ्य बीमा, विभिन्न गहन प्रकृतिका रोगको उपचार र पछि परेको क्षेत्रका लागि बजेट सुस्पष्ट ढङ्गले विनियोजन गरेको स्पष्ट गरे ।

गरिबीको रेखामुनिका विपन्न नागरिकको तथ्याङ्क आएपछि थप बजेट विनियोजन गरिने स्पष्ट गर्दै उनले देश र जनताका लागि काम गर्ने भएकाले बजेटमा विभेद नगरेको स्पष्ट पारे ।

अर्थमन्त्री महतले भने, “विनियोजन बजेटको उत्पादन बढाउने, आर्थिक वृद्धिमा आम नागरिकलाई जोड्ने सिद्धान्तसँग बजेट जोडिएको छ ।”

विनियोजन विधेयकप्रति सांसदको टिप्पणी

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का गोकर्ण विष्टले आर्थिक हिसाबले पछिपरेका जोखिमा रहेकालाई ठोस व्यवस्था नभएको बताए ।

उनले भने, “उपचार नपाएर जीवन गुमाउने र शिक्षामा पहुँच पुर्याउने विषयमा बजेटमा ध्यान पुर्याएको छैन । बजेट प्रधानमन्त्री र मन्त्रीका जिल्लामा केन्द्रित छ, एमालेको बजेटप्रति गम्भीर असहमति छ ।”

रास्वपाका सन्तोष परियारले राजनीतिक व्यवस्था बलियो बनाउने र अन्तर प्रदेशबीच समन्वय कायम गर्ने मामिलामा कम्जोर रहेको धारणा राखे । उनले भने, “बजेटप्रति पार्टीको असहमति छ, सुधारको खाँचो छ ।” नेमकिपाका प्रेम सुवालले बजेट बनाउँदा विश्वविद्यालयको राय परामर्श लिएको भए बजेट न्यायपूर्ण हुन्थ्यो भने ।

नेकपा (एस)का अम्बरबहादुर थापाले बजेट ठोस र परिणाममुखी नभई टालटुले हिसाबले तर्जुमा गरिएकाले समस्या सम्बोधन गर्न नसक्ने धारणा राखे । जसपाका रञ्जुकुमारी झाले धेरै पक्ष राम्रो रहे तापनि गरिबी रेखामुनिका जनतालाई माथि उठाउने, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा बजेट देखिएन भने । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले बजेटमा नवीनता र निरन्तरता भए पनि कार्यान्वयनको पक्षमा विशेष ध्यान पुर्याउन सुझाव दिए ।

सांसद थापाद्वारा दुर्घटना जानकारी

यसअघि बैठकमा प्यूठानबाट प्रतिनिधित्व गर्ने सांसद सूर्य थापा स्वर्गद्वारीमा आज भएको सडक दुर्घटनाबारे सदनलाई जानकारी दिए । उनले स्वर्गद्वारीको दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको सवारीसाधनमा ६ जना तीर्थालु सवार रहेको बताए ।

अर्थमन्त्रीलाई उक्त सडकको स्तरोन्नति र सुधारका लागि बजेटको व्यवस्था गर्न सुझाव दिँदै सांसद थापाले दुर्घटनामा एक पुरुष र बालकको निधन भएको भन्ने सूचना प्राप्त भएको जानकारी दिए । उनले निधन भएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ३२ गते दिनको ११ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !