१३ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभामा आगामी बजेट माथिको सामान्य छलफल सकियो


राष्ट्रिय सभा

काठमाडौं । राष्ट्रिय सभामा आगामी आ.ब.का लागि बिनियोजन भएको बार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ३ दिनसम्म चलेको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा जवाफ दिएपछि सामान्य छलफल सकिएको हो ।

जवाफको क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताब गरिएको बताउँदै विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर(भ्याट) लगाउँदा आमनागरिकलाई खासै असर नगर्ने दाबी गरेका थिए ।

विद्युतीय सवारीमा कर वृद्धि तथा प्याज, आलु र स्याउमा भ्याट लगाउँदा आम नागरिकलाई समस्या परेको भाष्य स्थापित गर्न खोजिएको बताउँदै उनले विद्युतीय सवारीमा कर तर्कसंंगत ढंगबाट तय गरिएको बताए ।

कम क्षमताका विद्युतीय सवारीका लागि कम दर र बढी क्षमताका सवारीका लागि बढी करका दर लगाइएको बताउँदै अर्थमन्त्री डा.महतले कर लगाउँदा विद्युतीय गाडी छाडेर पेट्रोलियममा आधारित सवारीमा कोही पनि नजाने सुनिश्चिता सहित करका दर परिवर्तन गरिएको दाबी गरेका थिए ।

राजस्व पनि साह्रै न्यून नहुने, विद्युतीय सवारीको प्रवद्र्धन पनि नघट्ने गरेर करका दर व्यवस्था गरेको बताउँदै उनले अब विद्युतीय सवारीमा जानुपर्ने, पेट्रोलियम पदार्थको उपयोग घटाउने तथा यातायात क्षेत्रमा विद्युतको प्रयोग बढाउने उद्देश्यका साथ कम दर प्रस्तावित बताए ।

स्वार्थ समूहले आफूले विद्युतीय सवारीमा कर बढाएको भनी अनावश्यक हल्ला चलाएको बताउँदै अर्थमन्त्रीले एउटै गाडीमा दशौँ लाख फाइदा उठाउँदै आएका र उनीहरुको ‘मार्जिन’ घट्ने भएकाले रिसाएको बताए ।

अर्थमन्त्री डा.महतले सरकारले सही मनसायले मात्रै काम गर्ने बताउँदै त्यसमा सत्तापक्ष र प्रतिपक्षको सहयोग रहेमा मात्र नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने र अर्थतन्त्रलाई चाहे अनुसार अझैसम्म पनि चलायमान बनाउन नसकेको स्वीकार गरेका थिए ।

उनले कतिपय आयोजनालाई भविष्यमा भए पनि गर्न सकिन्छ कि भन्ने हेतुले राखिएको दावी गर्दै संघीय सरकारले बढि भन्दा बढि जनसंख्यालाई मध्यनजर गरेर योजनाहरु छनौट गरिएको बताए ।

पुँजीगत खर्चको प्रभावकारीता बढाउने बिषय अहिलेको सबै भन्दा ठूलो चुनौती भएको दाबी गर्दै अर्थमन्त्री डा.महतले दातृ निकायबाट पाएको सहयोगलाई पनि खर्च गर्न नसकिएको अवस्था रहेको जानकारी दिए ।

तीन जिल्लामा मात्र बजेट गएको भन्ने कुरामा कुन सत्यता नभएको बताउँदै अर्थमन्त्री डा.महतले गेटा मेडिकल कलेजकोका लागि शिक्षा र स्वास्थ्य मन्त्रालय मार्फत बजेट जाँदा बजेट पर्याप्त नै बिनियोजन भएको तथा मल खादको सधैंको अभावलाई ध्यानमा राखेर नै बजेट बिनियोजन गरिएको बताए ।

उनले सार्वजनिक खरिद ऐन पुरानो भएकाले यसलाई परिमार्जन गरेर अगाडि बढ्नु पर्ने बेला भएको बताउँद देशमा भएका स्रोतलाई छुनै नहुने र नभएको स्रोत खोज्दै हिड्ने भन्ने सोच राख्न नमिल्ने बताएका थिए ।

बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययनको कुरा गरिएको बताउँदै अर्थमन्त्री डा.महतले विगतमा दातृ निकायको आग्रहमै गाँजालाई प्रतिबन्धित गरिए पनि अब भने यसलाई औषधिजन्य प्रयोगको लागि खुल्ला गर्नु पर्ने बताएका थिए । कुनै पनि निर्वाचनमा विकास बजेट नछुटोस् भनेर नै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको अर्थमन्त्री डा.महतको भनाई थियो ।

यसैबीच, आजै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा भने आ.ब.२०८०/०८१ राजश्व र व्ययको बार्षिक अनुमान(बजेट) माथिको सामान्य छलफल जारी रहेको थियो भने पहिलो बैठकमा चलेको सामान्य छलफलमा भाग लिंदै सांसदहरु हरिराम चौधरी, देबेन्द्र दाहाल, जितेन्द्रनारायण देव, जयन्तीदेवी राई र कृष्ण्रसाद पौडेलले दलीय आधारमा आ-आफ्नो धारणा राखेका थिए ।

बजेट माथिको सामान्य छलफल सकिए पछि पहिलो बैठक १६ मिनेटका लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक आगामी असार १० गते दिउँसो १ बजेर १ मिनेटका लागि डाकिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !