११ श्रावण २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता


रामचन्द्र पौडेल र रेशम चौधरी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरीले सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै गृह मन्त्रालयमार्फत पठाएको पत्र गृह मन्त्रालयमा नै फिर्ता पठाएका छन् ।

यसअघि जन्मकैदको सजाय काटिरहेका चौधरीले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा पठाएको थियो । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी गरिएको थियो ।

पूर्वसांसद चौधरीको सजाय माफी निवेदनमा राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्न राय दिएको हो । गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएतापनि राष्ट्रपति कार्यालयले रायसहित चौधरीको फाइल गृहलाई फिर्ता पठाएको हो ।

आम माफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला, सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानून बमोजिम गर्न भनेर राष्ट्रपति पौडेलले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले नेपालपत्रलाई बताए ।

साथमा टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्याथ पनि पठाएको छ । आजै बोहराले चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।

यसअघि सर्वोच्चले चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी लगायतको मुद्दामा जेठ २ गते मंगलबार अन्तिम बहस भएर फैसला आएको थियो । कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भोगिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !