१२ असार २०८१, बुधबार

डोजरले भत्काउन बन्द गरौँ, संरचनाहरुको स्तरोन्नतिमा ध्यान दिउँ : मन्त्री श्रेष्ठ


गंगानारायण श्रेष्ठ

हेटौडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले डोजरे विकासका कारण प्राकृतिक विपद् भोग्नु परेको बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले हरेक वर्ष प्राकृतिक विपद् आउनुको कारण डोजरे संस्कृति भएको बताएका हुन् ।

उनले जथाभावी डोजर चलाउने गरेका कारण हरेक वर्ष नेपालमा विपद्को सामना गर्नु परेको बताए । जथाभावी डोजर चल्न थालेको दुई दशकभन्दा बढी भएको उल्लेख गर्दै पर्यावरणमैत्री विकास गर्न नसकेमा बिकासले नै बिनाश निम्त्याउने उल्लेख गरे । उनले भने– ‘नेपालको सन्दर्भमा कुरा गर्दा डोजरे विकास संस्कृतिको रूपमा विकसित भईरहेको छ । बागमती प्रदेश पनि त्यसबाट अछुतो छैन । हामीले जथाभावी डोजर चलाउन थालेको २ दशक बढी भैसक्यो । जसको कारण देश÷प्रदेशले प्रत्येक साल प्राकृतिक विपद् भोग्दै आउन परेको छ । पर्यावरण मैत्री विकास गर्न सकिएन भने विकासले अन्ततः विनास नै निम्त्याउँछ । त्यसैले अब भत्काउने क्रम बन्द गरि भत्काएका संरचनाहरूलाई निर्माण (स्तरोन्नति) गर्ने अभियानमा लाग्दा कसो होला ? प्रबुद्ध प्रदेशवासी नागरिकहरूसँग सुझावको अपेक्षा गरिएको छ । किनकि, प्रदेश सरकार नीति योजना र बजेट निर्माणको क्रममा छ ।’

डोजरे विकासबाट बागमती प्रदेश पनि अछुतो नरहेको भन्दै उनले अब भत्काउने क्रम बन्द गरेर भत्काइएका संरचनाहरुलाई नै स्तरोन्नति गर्ने अभियानमा लाग्नुपर्ने बताए । बागमती प्रदेश सरकार नीति, योजना र बजेट निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस विषयलाई सरकारले गम्भीर रुपमा लिएर अघि बढ्ने स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !