१२ असार २०८१, बुधबार

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थुनामा राख्न आज पुनः म्याद थप गरिँदै


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज मंगलबार पुनः म्याद थप गरिँदै छ । मुद्दा दायर नभएसम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने भएको हो ।

उक्त प्रकरणमा पीडित भएको भन्दै हालसम्म ११३ जना प्रहरीको सम्पर्कमा आएका छन् भने पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ । प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलमा उजुरी परेको थियो ।

कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएसपछि थप व्यक्तिले जाहेरी दिएको रिजालले बताए ।

उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !