११ असार २०८१, मंगलबार

सांसद भण्डारीलाई भेटेर सभामुख घिमिरेद्वारा शीघ्र स्वास्थ्यलाभको कामना


देवराज घिमिरे र चन्द्र भण्डारी

काठमाडौँ । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई आज साँझ सभामुख देवराज घिमिरेले बत्तिसपुतलीस्थित निवासमा भेटेका छन् ।

सभामुखले घटनाबाट आफू दु:खित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताए ।

उनले भने, ‘सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ । घटनापछि मलाई केही कुराहरु सदनमार्फत जनतालाई सुनाउन मन छ । जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ । तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभामा कठिन अवस्थामा पनि अभिभावकत्व निर्वाह गर्नुभयो । सम्माननीयज्यूबाट पनि संसदको अभिभावत्व कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने लागेको छ ।’

सभामुखले भने, ‘चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौं । तर, जीवन रहे बोल्ने अवसर त आइहाल्छ । अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।’

महासचिव डा. भरतराज गौतमले भने, ‘माननीयज्यूको स्वास्थ्यले साथ दिन्छ भने सचिवालयले विशेष व्यवस्था गर्छ ।’

२०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई फागुन ४ गते श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराएर उनी वैशाख १७ गते काठमाडौं फर्किएका थिए ।

उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुरमा निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !