४ बैशाख २०८१, मंगलबार

३ दिन म्याद थपिएलगत्तै लिइयो टोपबहादुर रायमाझीको बयान


टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज जिल्ला अदालत काठमाडौँले अनुमति दिएलगत्तै सरकारी वकिलको कार्यालय उनको बयान लिइएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान लिइएको हो ।

बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ । आज सोमबर साँझ ६ बजेसम्म सरकारी वकिलको कार्यालय उनको बयान लिइने भएको हो ।

रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन् ।

प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !