७ असार २०८१, शुक्रबार

भत्किएको पुलमुनि कांग्रेस सांसद सञ्जय गौतम किन बसे आमरण अनशनमा ?


सञ्जय गौतम

बर्दिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद सञ्जयकुमार गौतम भत्किएको पुलमुनि आमरण अनशनमा बसेका छन् । पूर्व सिँचाइमन्त्रीसमेत रहेको सांसद गौतमले १५ सुत्रीय माग राख्दै हिजो शनिबार बेलुकीदेखि आमरण अनसन सुरु गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफ्नै पार्टी काँग्रेस पनि सरकारमा भएको समयमा सांसद गौतम आखिर किन आमरण अनशनमा बसे ? भनेर चासो बढेको छ ।

बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको र सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बस्नुपर्ने स्थिति सिर्जना भएको उनको सचिवालयले बताएको छ ।

सरकारका विभिन्न निकायमा बर्दियाको जनप्रतिनिधिका हैसियतले लामो समयदेखि उठान गरेकोमा जब्दिघाट पुल लगायतका समसामयिक बिषयमा राज्यको निकायबाट सुनुवाई नभएपछि अन्तिम विकल्पका रूपमा जनताका प्रतिनिधि, जनताको लागि, जनताकै माझमा भत्किएको जब्दी पुलको जब्दी तर्फको किनारातर्फ आमरण अनशन हिजो बैशाख ३० गतेबाट माग पूरा गर्ने ग्यारेन्टी नभएसम्मको लागि शुरूवात गरेका हुन् ।

सो अनसनमा बस्नुअघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त भएपछि सो पुल पुनः निमार्ण गर्नुपर्ने उनको प्रमुख माग रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !