१३ आश्विन २०८१, आइतबार

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए ।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । उनले भने, “यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।”

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भने, “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।”

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए ।

“जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पा¥यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु”, उनले भने ।

प्रधानमन्त्री दाहालले काठमाडौँ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे । “हिजो राज्यले काठमाडौँ नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो”, उनले भने, “अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओहिरिने छन् ।”

तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु