१४ बैशाख २०८१, शुक्रबार

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस


हरिकृष्ण कार्की फाइल फोटो

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएपछि आज कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । नेपाल बार एसोसिएशनले न्यायालयको नेतृत्व गर्ने प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर परेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूलाई दिँदै आएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ साल फागुन १ गतेदेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन रहेको थियो । सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको थियो ।

तत्कालिन कामु प्रधानन्यायाधीश दीपककुमार कार्की २०७९ असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बनेका थिए । वि.सं. २०१५ भदौ २५ गते जन्मिएका कार्की २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

कार्कीले अव २०८० साल भदौ महिनासम्म प्रधानन्यायाधीशको रुपमा काम गर्नेछन् । ओखलढुंगा स्थायी घर भएका कार्की २०६८ असोजमा केपी शर्मा ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ताका रुपमा काम गरेका थिए । २०७० सालदेखि २०७२ सालसम्म नेपाल बार एसोसियशनको अध्यक्ष समेत भएका थिए ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

हरिकृष्ण कार्की बने सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश

सर्वोच्चको नेतृत्वबाट एक कार्की बिदा हुँदै, अर्को कार्कीले नै सम्हाल्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !