१५ असार २०८१, शनिबार

टोपबहादुरलाई पक्राउ पुर्जी जारी भएपछि प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लियो


प्रचण्ड र ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता बाक्लिएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वमन्त्री रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी अहिलेसम्म फरार रहेको बताइएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच आज शनिबार पनि भेटवार्ता भएको हो ।

उनीहरुबीच सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । मुलुकको पछिल्लो समसामयिक विषयमा उनीहरूबीच छलफल भएको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताएका थिए । गत बिहीबार पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !