१२ आश्विन २०८१, शनिबार

आक्रमण प्रयास भएपछि रविले भने – मैले मतदानस्थलमा जान सक्ने अवस्था रहेन


रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार रवि लामिछानेले सामाजिक संजाल फेसबुकमा लाइभ आएर आफू मतदानस्थलमा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

सभापति लामिछानेले जारी मतदानका क्रममा आफू मतदान केन्द्रहरुमा गएर मतदाता भेट्ने र मतदान अधिकृतहरुसँग जानकारी लिने स्थिति नभएको स्पष्ट पारेका हुन् ।

निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुलहुज्जत भएको थियो । चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा आइतबार लामिछाने पुग्दा समर्थकले नाराबाजी गरेपछि अरू पार्टीका कार्यकर्ताले आपत्ति जनाएर धकेलाधकेल समेत भएको थियो ।

लामिछाने उक्त केन्द्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनको पक्षमा नाराबाजीसँगै तनाव सुरु भएको थियो । रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।

सोहीक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो । झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो । अहिले पनि उक्त मतदान केन्द्रमा तनाव जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !